निशाले सगरमाथा चढ्न पाउने, तर हैसियत ‘चिनियाँ टोलीको हेल्पर’ हुने

सगरमाथा चढ्न भनेर तामझामका साथ गएको तर अनुमति नलिएको खुलेपछि आधार शिविरमै अलपत्र परेको, फर्काउने भन्ने खबरबीच आज पर्यटन मन्त्रालयका ‘लेखापाल’लाई उद्‌धृत गर्दै आएको समाचारमा नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई सरकारले सगरमाथा चढ्न नरोक्ने भएछ। पर्यटन मन्त्रालयका प्रवक्ता यो चुप बसेको बेला यो विषयमा बोल्ने अधिकारै नभएको ‘लेखापाल’को मुखबाट आएको (वा दिन लगाइएको) धारणाले पूरै प्रकरणलाई रहस्यमय त बनाउँदै नै थियो, अर्की आरोही जुनिता सम्बाहाम्फेले आरोहणका नाममा हुने ठगीबारे अमेरिकाबाट गरेको खुलासाले नयाँ रुप लिएको छ।

लेखापाललाई बोल्न लगाएर भए पनि पर्यटन मन्त्रालयले निशा र अर्जुनलाई ‘नो अब्जेक्सन’ भन्दै हरियो झण्डा देखाएको छ। तर निशा र अर्जुनको हैसियत सगरमाथा आरोहीको भने हुने छैन। उनीहरु हाइ अल्टिच्युड वर्कर अर्थात् बोलिचालीको भाषामा ‘हिमाली भरिया’ को हैसियतमा हुनेछन्। निशा चाइनिज आरोहण टोलीकी हेल्पर हुन्। उनले त्यही लेखिएको प्रमाणपत्र पाउने छिन्। अलिकति प्रक्रियामात्रै मिलाएको भए उनी हेल्परका रुपमा हैन, आरोहीकै रुपमा शिर ठाडो पारेर सगरमाथा आरोही बन्न सक्थिन्। किनभने उनको आरोहणलाई बैँक लगायतका संस्थाले समेत प्रायोजन गरेको थियो। रकमको अभाव उनलाई हुने थिएन। सरकारले पनि नेपाली आरोहीका लागि रोयल्टी मिनाहा गरिदिन सक्थ्यो

source- mysansar

Comments are closed.